इटहरी । कानेपोखरी गाउँपालिका वडा नं. २ को आयोजनामा “जेष्ठ नागरिक सम्मान कार्यक्रम तथा असल संरक्षक सम्मान कार्यक्रम” सम्पन्न भएको छ । बुधबार वडाको सभाहलमा अयोजित कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नाम रहनु भएको थियो । कार्यक्रममा ३० जना जेष्ठ आमा–बुबाहरुलाई सम्मान गरिएको थियो भने तिनका असल संरक्षकहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष इङ्नामले सबै जेष्ठ नागरिकहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गर्नुभयो । गाउँपालिकाले सम्मान गर्ने सम्मान कार्यक्रममा सबैलाई समेट्न नसकेकाले वडा नं. २ ले छुटेका नागरिकहरूलाई समेट्दै सम्मान गरेको जानकारी दिनुभयो । यस्तै वडा अध्यक्ष सुशिल बुडाथोकीले कार्यक्रमले ज्येष्ठ नागरिक र असल संरक्षकलाई सम्मान गर्नुका साथै समाजमा वृद्ध प्रतिको जिम्मेवारी र आदरभावना फैलाउने उद्देश्य राखेको बताउनुभयो ।


