इटहरी । पूर्व मन्त्री तथा सङ्घीय सांसद भगबती चौधरीले ज्येष्ठ नागरिकहरू वर्तमान र भविष्यको मार्गदर्शक रहेको बताउनुभएको छ । बिहिबार दुहबी नगरपालिका वडा नं ११ तनबुनामा बरयाती थान ज्येष्ठ नागरिक दिवा मिलन केन्द्र भवनको सिल्यानास गर्नुहुँदै सांसद चौधरीले ज्येष्ठ नागरिक इतिहासका साक्षी मात्र नभई वर्तमान र भविष्यको मार्गदर्शक रहेको बताउनुभयो । चौधरीले समाजका ज्येष्ठ नागरिकहरूका अनुभव, ज्ञान र योगदानको सम्मान स्वरूप उक्त भवनको शिलान्यास सम्पन्न गर्न पाउँदा गर्व महसुस गरेको समेत बताउनुभयो । मन्त्री पदमा रहेको समयमा सबै वडामा ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र निर्माण गर्ने सङ्कल्प गरेको बताउनुहुँदै भवनले समुदायका ज्येष्ठ नागरिकलाई एक आपसमा भेटघाट, विचार आदानप्रदान र रमाइलो गर्ने थलोका रूपमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा दुहबी ११ नं वडाका वडा अध्यक्ष खड्ग नारायण उराव लगायत स्थानीय समाजसेवी एवम् सयौँ स्थानीयको सहभागिता रहेको थियो ।