इटहरी । संखुवासभाको मादी नगरपालिकामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु भएको छ । मादी नगरपालिका तथा नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदवारीको संयुक्त आयोजनामा मोतियाबिन्दु भएका बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिएको हो । नगर प्रमुख जिवन लिङ्थेपले मादी नगर अस्पतालमा बिहिबार र शुक्रबार हुने शिविरको उद्धघाटन गर्नु भएको थियो । मादी नगरपालिकाका ९ वटै वडा कार्यलय सँग समन्वय गरेर सञ्चालन गरिएको शिविरमा मेची आँखा अस्पताल, बिर्तामोडका निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पुरुषोत्तम जोशीको नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा शल्यक्रिया सेवा प्रदान गरिने मादी नगर प्रमुख जिवन लिङ्थेपले बताउनुभयो । मोतियाबिन्दु शल्यक्रिया सँगै सामान्य आँखा परीक्षण, निःशुल्क औषधि वितरण, चस्मा वितरण र नेत्रसम्बन्धी परामर्श सेवा पनि प्रदान गरिने छ । नगरपालिकाले शिविर मार्फत नगरभित्रका दृष्टि गुमाउँदै गएका नागरिकहरूलाई गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै उनीहरूको जीवनमा उज्यालो फर्काउने लक्ष्य लिएको नगरपलिकाले जनाएको छ । कार्यक्रममा मादी नगरपलिकाका उपप्रमुख सुनीता देवि भट्टराइ दाहाल , प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर भट्टराई, वडाअध्यक्षहरु, स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वस्थ्यकर्मी, राजनितीक दलका प्रतिनिधि र स्थानियको शिविरमा सहभागिता रहेको थियो ।


