इटहरी । इटहरी उपमहानगरपालिका २० तरहरामा हरेक हप्ता लाग्ने सोमबारे र बिहीबारे बजार अनुगमन गरिएको छ । व्यापारीहरू द्वारा ढकतराजुको दुरुपयोग गरी सेवाग्राहीलाई ठगिएको गुनासो निरन्तर रुपमा उठेपछि उपमहानगर खाद्य परीक्षण तथा बजार व्यवस्थापन अनुगमन शाखा र तरहरा उद्योग वाणिज्य संघले संयूक्त रुपमा अनुगमन गरेको हो । अनुगमनमा सिधा व्यापारीहरूसँग संवाद गर्दै ढक र तराजुको अवस्था निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा केही व्यापारीहरूले प्रयोग गरिरहेका ढकमा मापदण्ड विपरीतको संरचना भेटिएको, केही ढकहरूमा अनधिकृत फेरबदल गरिएको, र तौल कम देखिने गरी बनाइएको पाइएपछि ती यन्त्रहरू नगर प्रहरीले तत्काल जफत गरेको थियो । इटहरी उपमहानगरपालिका अन्तर्गतको बजार व्यवस्थापन शाखाले आगामी दिनमा यस्ता अनुगमनलाई नियमित बनाउँदै लैजाने योजना बनाएको जानकारी दिएको छ । इमानदार रूपमा व्यापार गरिरहेका व्यवसायीहरूलाई सम्मान गरिने र अनियमित क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने इटहरी उपमहानगर खाद्य परिक्षण तथा बजार अनुगमन शाखा अधिकृत अनु अर्यालले जानकारी दिनुभएको छ । स्थानीय उपभोक्ता, नागरिक समाज र वाणिज्य संघसँग समन्वय गरेर अझ प्रभावकारी ढंगमा बजारको निगरानी गरिने र आवश्यक परेमा कारबाहीलाई थप कडाइ गरिने समेत बताइएको छ । अनुगमनमा इटहरी २० का वडासदस्यहरु, खाद्य परीक्षण तथा बजार व्यवस्थापन अनुगमन शाखा र तरहरा उद्योग वाणिज्य संघका पदाधिकारीहरु सहभागी थिए ।


