इटहरी । तमोर नदी लाम्वुघाट मोटर पुल निर्माण कार्य अघि बढाउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग अनुरोध गरिएको छ । तेह्रथुम र पाँचथर जिल्लालाई सडक सञ्जाल मार्फत जोड्ने महत्वपूर्ण आयोजनाको रूपमा रहेको पुल सम्पन्न गर्नका लागि आवश्यक पर्ने झण्डै १४ करोड रुपैयाँ बजेट विनियोजनको माग गरिएको हो । मन्त्री दाहालसँगै सो अवसरमा सचिव  केशव शर्मा, सडक विभागका महानिर्देशक, पुल महाशाखा प्रमुख, सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख, तथा निर्माण व्यवसायी जयराम लामिछाने बीच प्राविधिक तथा कानुनी पक्षमा विस्तृत छलफल तथा समिक्षा गरिएको थियो । सहभागी पक्षहरूले लाम्वुघाट मोटर पुलको निर्माणले पूर्वी पहाडी भेगको यातायात प्रणालीमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । यो पुल निर्माण सम्पन्न भएपछी स्थानीय उत्पादनको बजार पहुँच बढ्नुका साथै स्वास्थ्य, शिक्षा र आपतकालीन सेवामा समेत सहजता आउने छ । पुल निमार्णको प्राविधिक अध्ययन तथा पूर्वतयारी अन्तिम चरणमा पुगेको छ ।