इटहरी । दुहबी नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाले सञ्चालन गरेको एक महिने बुटिक तालिम सम्पन्न भएको छ । दुहबी–४ स्थित ‘जिना बुटिक सेन्टर’ मा सञ्चालन गरिएको तालिममा सहभागी महिलाहरूले सिलाई–कटाई, डिजाइनिङ, आधुनिक फेसनबारे प्रारम्भिक ज्ञान र सीप सिकेका थिए । महिलाहरूलाई बुटिक व्यवसायमा सक्षम बनाउने र तिनलाई स्वरोजगार तर्फ प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा पाँच जना महिलाले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छादारले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै सीप सिकेर आत्मनिर्भर बन्ने प्रयत्नमा लाग्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता तालिमहरूलाई निरन्तरता दिने तथा व्यवसाय सुरु गर्न चाहने महिलाहरूलाई आवश्यक प्राविधिक तथा परामर्श सहयोग प्रदान गरिने बताउनुभयो । तालिममा व्यावसायिक दक्षता अभिवृद्धि गर्न आवश्यक व्यवहारिक अभ्यासमा विशेष जोड दिइएको बताइएको छ । कार्यक्रममा सहभागी महिलाहरूले पनि तालिमले आफूहरूमा आएको परिवर्तनबारे अनुभव साटासाट गरेका थिए । उनीहरूले अब आफूले व्यवसायिक ढंगले बुटिक सञ्चालन गर्ने लक्ष्य बनाएको बताएका थिए ।