इटहरी । अघिल्ला वर्षमा यतिबेला तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसले ढाकेर ढकमक्क हुन्थ्यो । जता हेरे पनि रातै देखिन्थ्यो । पर्यटकको ताँती लाग्ने गथ्र्यो तर यो वर्ष अघिल्लो वर्षको तुलनामा गुराँस कम फुलेको छ । गुराँस कम फुलेसँगै पर्यटक पनि घटेका छन् । पछिल्लो समय फूल कम फुल्नुमा जलवायु परिवर्तनको असरका कारण पानी तथा हिउँ नपर्नु, जङ्गल नै मासिनु, हाँगा भाँचिनु आदि समस्याका रूपमा रहेको स्थानीयको भनाइ छ । त्यस्तै एक वर्ष फुलेको बोटबाट अर्को वर्र्ष कम फुल्ने भएकाले पनि यो वर्ष कम भएको स्थानीयको बुझाइ छ । स्थानीय डिकबहादुर गुरुङ गुराँस कम फुलेकै कारण यो वर्ष पर्यटकको सङ्ख्यामा पनि कमी आएको बताउनुहुन्छ ।
तीनजुरे मिल्के जलजले क्षेत्रलाई गुराँसको राजधानीका रूपमा लिइन्छ । यो सिजनमा गुराँस हेर्न हजारौँ पर्यटक सो क्षेत्र पुग्ने गरेका छन् । तर यो वर्ष गुराँस कम फुल्दा पर्यटक पनि निकै कम मात्र पुगेका छन् । यो क्षेत्र तह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सिमानामा पर्छ । यहाँ नेपालमा पाइने ३३ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस पाइन्छ । अघिल्ला वर्षमा यो सिजनमा ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको तथ्याङ्क छ । यो वर्ष करिब ५० प्रतिशत पनि पर्यटक नआएको स्थानीयको अनुमान छ । अघिल्ला वर्षमा जसरी गुराँस नफुलेका कारण सोचे जस्तो नभएको धरानबाट घुम्न आएका सुजित सिंह बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो ठाउँको वातावरण आफैँमा सुन्दर छ । मनमोहक छ । यो सिजनमा डाँडापाखा सबै रातै हुन्छ भन्ने सुनेका थियौँ तर त्यस्तो पाएनौँ ।”
स्थानीय होटेल व्यवसायी चन्द्र कार्कीका अनुसार मध्य चैतबाट जेठ अन्तिमसम्म यो क्षेत्रमा गुराँस अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका थिए । तर यो पटक गुराँस हेर्न आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा स्थानीय व्यवसायी पनि समस्यामा परेका छन् ।


