इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले मध्यावधि कार्य प्रगति सार्वजनिक गरेको छ । नगर प्रमुख कालुमान लामा लगायत स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूले नगरदेखि वडा तहसम्ममा रहेर सम्पादन गर्नुभएका विकास निर्माणका विभिन्न कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरिएको हो । नगर प्रमुख लामाले आर्थिक वर्ष २०७९र०८० देखि २०८१र०८२ सम्मको शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माण र खानेपानी जस्ता जनताका आधारभूत आवश्यकताका विषयमा पहिलो प्राथमिक्तामा राखेर बजेट विनियनेजन गरी कार्य सम्पादन गर्दै आएकोे बताउनुभयो । नगरपालिकाले तीन आर्थिक वर्षमा कुल एक अर्ब ७१ करोड ८१ लाख दुई हजार २५६ रुपियाँ खर्च गरेको जनाएको छ । जसमा एक अर्ब २९ करोड ३५ लाख ९२ हजार ५७० रुपियाँ चालु तर्फ खर्च भएको छ भने ४२ करोड ४५ लाख नौ हजार ६८७ रुपियाँ पुँजीगत खर्च भएको छ । जसमा आफ्नो आन्तरिक आय तर्फ आर्थिक वर्ष २०७९र०८० मा तीन करोड ७५ लाख ८४ हजार ५४६, आव २०८०र०८१ मा छ करोड ७१ लाख ७३ हजार ३५४ र आव २०८१र०८२ को मङ्सिर मसान्तसम्ममा दुई करोड ४२ लाख ५८ हजार २६७ रुपियाँ आम्दानी भएको जनाइएको छ । यस अवधिमा भौतिक पूर्वाधार तर्फ करिब १५ किलोमिटर सडक कालोपत्रे गरेको छ भने ५० किलो मिटरभन्दा बढी सडकमा ग्राभेल गरी सडक स्तरोन्नतिको काम गरेको र नगर क्षेत्र भित्रका विभिन्न जिर्ण विद्यालय भवन निर्माणदेखि दर्जन बढी खानेपानीका योजनाहरू सम्पन्न गरेको पनि नगर प्रमुख लामाले बताउनुभयो । नगरपालिकाले पुँजीगतर्फको बजेटलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा अधिकतम खर्च गरेको पाइएको छ । आफ्नो चुनावी प्रतिबद्धता अनुसार काम गरिरहेको र आफ्नो कार्यकाल भरिमा आफ्ना चुनावी घोषणा पत्रानुसार काम गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उदयपुर जिल्लाका आठ पालिकामध्ये पहिलो पटक चौदण्डीगढी नगरपालिकाले आफ्नो मध्यावधि कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।


