इटहरी। विवाह कार्यक्रम भइरहेका बेला मोरङको धनपालथानमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन्। धनपालथान गाउँपालिका–६ कदमहास्थित बिहे घरमा शुक्रबार राति दुई पक्षबीच झडप भएको हो। स्थानीय भजनलाल सहनीको छोरीको बिहेमा राति ११ः३० बजेतिर झडप भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। नाचगान गर्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो। मदिरा सेवन गरेका जन्ती र घरगाउँले बीच बढेको विवाद बढेर भडप भएको थियो। झडपमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये वीरेन्द्र र श्रवण बेहुली पक्ष तथा अरु ३ जन्तीहरु रहेको प्रहरीले जनाएको छ। सबैलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ। ३ जनाको टाउकोमा चोट लागेको छ। विराटनगरको पिचराबाट बेहुला लिएर जन्तीहरु बेहुली लिनलाई धनपालथान पुगेका थिए। झडप भए पनि जन्ती भने बेहुला र बेहुली लिएर शनिबार बिहानका राति १ बजेतिर विराटनगर फर्किएका थिए। बेहुली लिएर फर्किएको जन्तीको टोलीलाई प्रहरीले सुरक्षा दिएको थियो। झडपमा संलग्न व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।