इटहरी ।  खोटाङको सावा खोलामा पक्की पुल निर्वाण भएको छ। जिल्लाको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको बीचमा पर्ने भानमति घाटमा पक्की पुल निर्माण गरि शनिबारदेखि संचालनमा ल्याइएको छ। यो पुल निर्माण भएसँगै खोटाङका पाँच पालिकाका बासिन्दा लाभान्वित भएका छन्। कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ससर्त अनुदानमा सावाखोलामा ४१।४० लम्बाइ र ८।४० मिटर चौडाइको पक्की पुल निर्माण गरिएको छ। उक्त पुलको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।  पुल उद्घाटन गर्दै मन्त्री राईले खोटाङको विकासमा प्रदेश सरकारले प्राथमिकतामा राखेर विकास निर्माणका काम अगाडी बढाइरहेको बताए।  उनले सावाँखोलाको पक्की पुल निर्माण भइसकेको, बुवाखोलाको पक्की पुल द्रुत गतिमा निर्माण भइरहेको र सुनकोसीको बंशिला घाटको पक्की पुल समयमै निर्माण गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको पनि बताए।

मन्त्री राईले सुनकोसीको बंशिलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण भएपछि खोटाङ वासीका दुस्खका दिन सकिने पनि बताए। मन्त्री राईले सुनकोसीको फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि खोटाङवासिको आवतजावतलाई सहज बनाउन प्रदेश सरकारको लगानीमा फोक्सिङटारदेखि धाप्लाङघाटसम्मको  ३१ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेर निर्माणकार्य थालिएको बताए। उनले खोटाङको विकास निर्माणमा हातेमालो गरेर अगाडि बढ्न पनि अन्य जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूलाई आह्वान गरेका छन्।  विकास निर्माणका काममा प्रचारबाजीभन्दा पनि जनतालाई सुविधा दिने र परिणाममुखी काम गर्नु आफ्नो कर्तव्य भएको मन्त्री राईको भनाइ छ। खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी सावाखोलामा पक्की पुल निर्माण भएसँगै जिल्लाको खोटेहाङ, साकेला, दिप्रुङचुईचुम्माका बासिन्दालाई बेलटार हुँदै तराई झर्न र जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका वासिन्दालाई सदरमुकाम दिक्तेल र ईलाका प्रशासन कार्यालय खोटाङबजारसम्म आवतजावत गर्न सहज भएको बताए।  २०८० वैशाख ११ गते सम्झौता गरी निर्माण सुरु भएको पक्की पुलको निर्माण अवधि २ वर्षको रहेको थियो।

निर्माण कम्पनी सुसम(आदित्य(विजय निर्माण सेवा उदयपुरले समयमै पुल निर्माणको काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। पुल निर्माण गरे बापत प्रदेश सरकारले निर्माण कम्पनीलाई ८ करोड २१ लाख ७२ हजार ८ सय ९४ रुपैयाँ भुक्तानी गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुख रमेश श्रेष्ठले बताएका छन्। पुलको दुबैतर्फ १।२० मिटरको फुटपाथ निर्माण गरिएको छ। पुलमा यातायातका साधन चलिरहेकोको बेला सर्वसाधारणलाई पैदल हिँड्न सहज हुने चिसापानी खुटाका स्थानीय बाजिन्द्र बिष्टले बताए। पक्की पुलको उद्घाटन भइ संचालनमा आएपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गर्दै पुलमा फोटो खिच्ने र टिकटक बनाउन थालेका छन्।