इटहरी । हरेक आर्थिक बर्षको बजेट निति तथा कार्यक्रम हुनु अगाडि मध्यमकालिन खर्च संरचना सम्बन्धी योजना तयार गर्नु पर्ने भन्दै दुहबी नगरपालिकाको आयोजना र पाथिभरा अनुसन्धान सेवा एबम परामर्श सेवा प्राली ताप्लेजुङको समन्वयमा एक दिने कार्यशाला गोष्ठि समापन भएको छ । प्रदेश योजना आयोगका सदस्य नारायण कोइरालाले कार्यशालाको उद्देश्य र यसको अपरिहार्यता स्पष्ट पार्नुभएको थियो । दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारको अध्यक्षतामा आयोजित गोष्ठीमा वडा नम्बर १ देखि १२ सम्मका वडा अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो । सार्वजनिक स्रोत परिचालनमा विनियोजन, कुशलता, कार्यन्वयन, दक्षता र वित्तीय सुशासन कायम गर्ने सार्वजनिक वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण औजार मध्यमकालीन खर्च संरचना हो । प्रत्येक आर्थिक वर्षको वार्षिक बजेट र चालु आवधिक योजनाबीच तादात्म्यता ल्याउने महत्त्वपूर्ण औजार नै मध्यकालीन खर्च संरचना हो । गोष्ठीमा नगरको विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्रोत साधनको न्यायोचित वितरण, महत्तम परिचालन तथा पारदर्शी र मितव्ययी खर्च प्रणालीका विषयमा गहन छलफल गरिएको थियो । साथै, पूर्वाधार निर्माण, सेवाको गुणस्तर वृद्धि, प्रभावकारिता सुनिश्चितता तथा वित्तीय अनुशासन कायम गर्न आवश्यक सुधारका उपायहरूबारे समेत चर्चा गरिएको थियो । सार्वजनिक खर्च प्रणालीमा वित्तीय अनुशासन कायम गर्दै समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने उद्देश्य लिइएको बताइएको छ । यसका लागि सरकारको मध्यम अवधिको आन्तरिक र बाह्य स्रोतहरूको यथार्थपरक अनुमान गरी समष्टिगत आर्थिक खाका तथा बजेट खाका तर्जुमा गरिने जानकारी पनि दिइएको थियो । दुहबी नगरपालिकाले आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्ने उद्देश्यसहित मध्यकालीन खर्च संरचना लागू गर्ने योजना अघि बढाएको छ । नगर प्रमुख बेद नारायण गच्छादारका अनुसार, यस संरचनाले योजनालाई बजेटसँग र बजेटलाई कार्यसम्पादनसँग जोड्न मद्दत पुग्नेछ । नगर प्रमुख गच्छादारले खर्चमा पारदर्शिता कायम गर्ने, खर्च गर्ने निकायहरूलाई जिम्मेवार र जवाफदेही बनाउने तथा वित्तीय अनुशासनलाई मजबुत बनाउने लक्ष्यसहित दुहबी नगरपालिकाले यस प्रणालीको सफल कार्यान्वयनका लागि आवश्यक पहल सुरु गरिसकेको जानकारी दिनुभयो ।


