इटहरी । इटहरी उपमहानगरपालिका–२ मा अवस्थित महेन्द्र माध्यमिक विद्यालयले आफ्नो ४८औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयमा ४३ वर्ष सेवा गर्नुभएका पूर्व प्रधानाध्यापक पदमकुमार थापालाई विशेष सम्मान सहित बिदाइ गरिएको हो । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । यस अवसरमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ । साथै कक्षा १ देखि ५ सम्मका सबै छात्रा तथा सोही तह सम्म अध्ययनरत दलित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयका वर्तमान प्रधानाध्यापक मेदनकुमार घिमिरेले विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाइ भइरहेको जानकारी दिँदै, शिक्षाको गुणस्तर सुधार अभिभावक, शिक्षक र समाजको साझा प्रयासबाट मात्र सम्भव हुनेमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र घिमिरेले भौतिक संरचनाको अभावले चुनौती भए पनि सुधारका कामलाई तीव्रता दिइएको बताउनुभयो । स्थापना दिवस र बिदाइ समारोहले विद्यालयको ऐतिहासिक योगदान र भावी योजना प्रति समेत सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । कार्यक्रमको सञ्चालन शिक्षक योगेन्द्र पौडेलले गर्नुभएको थियो ।