इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ स्थित सिक्रेटार क्षेत्रका कैलाश पर्वत र हरित हिलको संरक्षण तथा विकास कार्य सुरु गरिएको छ । यो सुन्दर प्राकृतिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित संरक्षण कार्य अघि बढाइएको हो । वडाध्यक्ष कुमार थापाका अनुसार, कैलाश पर्वतसम्म पुग्न पदमार्ग निर्माण भइरहेको छ। यसका लागि प्रदेश सरकारबाट प्राप्त ५ लाख रुपैयाँको बजेट प्रयोग गरिएको छ । साथै, कैलाश डाँडाबाट नजिकै रहेको हरित हिल सम्म पुग्ने अर्को पदमार्ग पनि निर्माणाधीन छ । वडाध्यक्ष थापाले कैलाश पर्वत, हरित हिल, गौरीशंकर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो । सोही योजना अन्तर्गत वडा कार्यालय नजिकै १० लाख रुपैयाँको लागतमा बाल उद्यान निर्माण गरिएको छ । स्थानीयवासी टेकबहादुर बस्नेतले वडाले सुरु गरेको संरक्षण प्रयासले समुदायमा उत्साह थपेको बताउनुभयो । अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले यी क्षेत्रहरूको विकासले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार, कैलाश पर्वत र गौरीशंकर मन्दिरमा वर्षमा एकपटक लाग्ने भव्य मेलामा स्थानीय मात्र होइन, छिमेकी जिल्लाका भक्तजन पनि सहभागी हुने गर्दछन् ।