इटहरी । भोजपुरको ग्रामीण क्षेत्रहरुमा संचालन गरिएका निशुल्क शिविरहरु प्रभावकारी बनेका छन् । पालिकासँगको समन्यवयमा नेपाल नेत्र ज्योति संघ भोजपुरले जिल्लाको तीन पालिकामा संचालन गरेको शिविरमा १ सय बढीको आँखाको शल्यक्रिया भएको छ भने करिव ७ सयको उपचार भएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई बिशेष प्राथमिकता दिएर गरिएको शिविर जिल्लाको दक्षिण हतुवागढी गाउँपालिका र उत्तरको साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा संचालन गरिएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिनुभयो । तीन पालिकामा भएको शिविरमा १ सय २७ जनाको शल्यक्रिया र ६ सय ८५ जनाको आँखा परीक्षण गरिएको छ । शिविरमा बिराटनगर आँखा अस्पताल रानीका बिशेषज्ञ डाक्टरको टिमले परीक्षण तथा शल्यक्रियामा प्राबिधिक सहयोग गरेको थियो । शिविरमा मोतिविन्दु र मासु पलाएको समस्याको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो । शिविरले आर्थिक अवस्था कमजोर भएर उपचारमा जान नपाएका दुर्गम क्षेत्रका विरामीलाई राहत मिलेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो ।


