इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित जनता चौकको खेल मैदानमा पहिलो पटक आयोजना गरिएको कोशी प्रदेशस्तरीय नकआउट कबड्डी प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीले गर्नुभएको हो । प्रतियोगिताको पहिलो खेलमा इनरुवाले दुहवीलाई ५४–२६ अंकले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशभरिका १० जिल्लाका १२ टिमले प्रतिस्पर्धा गर्दैछन् । जनता युवा क्लबको आयोजनामा, भोक्राहा नरसिंह, हरिनगर, र कोशी गाउँपालिकाको सहआयोजनामा तथा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको विशेष सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । आयोजक क्लबका अध्यक्ष हैदर अलिका अनुसार प्रतियोगिताका विजेताले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास मात्र होइन, स्वास्थ्य, सामाजिक एकता र भाइचारा प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । उद्घाटन कार्यक्रममा विभिन्न पालिकाका वडाध्यक्षहरू, प्रशिक्षक, खेलाडी तथा राजनीतिक, सामाजिक र खेल क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


