इटहरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्वामित्वको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई ज्ञापनपत्र बुझाउनु भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापो सहित भूमि समस्या समाधान आयोग मोरङका अध्यक्ष नविन पौडेल, पथरी शनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीम राईले उक्त ज्ञापनपत्र मार्फत  पाँच दशक भन्दा लामो समयदेखि जमिनमा भोगचलन गर्दै आएका नागरिकहरूलाई स्थायी स्वामित्व दिन सरकारलाई आग्रह समेत गर्नु भएको हो  । नगरप्रमुख सहितको प्रतिनिधिमण्डलले राजधानी काठमाडौंमा पुगेर सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको हो । केही दिनदेखि राजधानीमा रहेको उक्त टोलीले स्थानीय तहका समस्या समाधान तथा आवश्यक मागहरू सम्बोधनका लागि ज्ञापनपत्र पेश गरेको हो । ज्ञापन पत्र बुझाउँदै अनाधिकृत रूपमा दर्ता भइसकेका जमिनहरूको फिल्ड बुक र मोठ कायम लगायतका श्रेस्ता खारेज गरी, हाल भोगचलन गरिरहेका व्यक्तिहरूकै नाममा जग्गाको स्वामित्व कायम गरिदिन माग समेत गरिएको छ ।