इटहरी । बर्जु गाउँपालिकाले अपाङ्गता भएका करिब १ सय जना नागरिकहरूलाई विभिन्न सहायता सामग्री वितरण गरेको छ । यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता, स्वतन्त्रता र गरिमाको अनुभूति दिलाउने उद्देश्य राखेको छ । कार्यक्रम अन्तर्गत ह्वीलचेयर, वाकर, ट्राइपड स्टिक, क्वाड स्टिक र छडी जस्ता सहायक उपकरणहरू वितरण गरिएको थियो । यो सहायता वितरण कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो । शुक्रबार बर्जु गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा सांसद भगवती चौधरी प्रमुख अतिथि हुनुहुन्थ्यो। उहाँसँगै संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री सुमित्रा चौधरी, गाउँपालिका अध्यक्ष जीवछ राय, उपाध्यक्ष नितु चौधरी, वडा नं. १ का अध्यक्ष दिलकुमार गुरुङ लगायत सयौं स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि भगवती चौधरीले समावेशी समाज निर्माणको महत्व र अपाङ्गता भएका व्यक्तिहरूका अधिकार प्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो । यस कार्यक्रमले सामाजिक न्याय र समावेशीताको सन्देश फैलाउने साथै अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवहारिक सहयोग पुर्याउने ठोस कदमको रूपमा चर्चा पाएको छ ।


