इटहरी । निर्यात वस्तुमध्ये महत्वपूर्ण हिस्सा ओगटेको नेपाली अर्थोडक्स चियाले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाएको छ । यो वर्ष पहिलो टिपाइ फस्ट फ्लर्टको चियाको निर्यात पनि राम्रो भएको चिया उद्योगीले बताएका छन् । इलामका सबै जसो चिया उद्योगमा उत्पादित फस्ट फ्लसको तयारी चिया भारतसहित तेस्रो मुलुक निर्यात भइसकेको उद्योगीको भनाइ छ । साँखेजुङस्थित ग्रिनहिल टी इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले फस्र्ट फ्लसको आठ हजार किलो तयारी चिया निर्यात गरेको बताउनुभयो । “यस वर्ष मैले फस्र्ट फ्लसलाई भारत नै पठाएँ । अन्य सबै जसो उद्योगले पनि निर्यात गरिसकेका छन्,” दाहालका अनुसार भारतसहित तेस्रो मुलुकबाट अहिले चियाका व्यापारी धमाधम आउन थालेका छन् । दाहालले गत वर्ष ५५ हजार किलो तयारी चिया विदेश निर्यात गरेको समेत बताउनुभयो ।
उता आगलागीबाट ध्वस्त भएको इलामको जसबिरेस्थित जसबिरे चिया उद्योगले पनि फस्ट फ्लसको चिया उत्पादन र बिक्री गरिसकेको छ । आगोले ध्वस्त भएपछि नयाँ संरचना तयार गरेर उत्पादन सुरु गरेको कारखानाले यो वर्ष उत्पादन गरेको चिया निकासी गरेको सञ्चालक शरद सुब्बाले बताउनुभयो । हिउँदमा पानी पर्याप्त नपरेकाले सोचे जति फस्र्ट फ्लस उत्पादन नभए पनि अब दोस्रो सिजन अर्थात् जेठदेखिको हरियो चियाको उत्पादन भने राम्रो रहेको सुब्बाको भनाइ छ । नेपाली चिया निर्यातको अवस्था हेर्दा पनि गत वर्षभन्दा यो वर्ष निकै राम्रो छ ।
चालु आव २०८१ र ८२ को १० महिनामा अघिल्लो वर्षभन्दा ४६ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालय काँकडभिट्टा झापाले जनाएको छ । चालु आव २०८१ र ८२ को वैशाखसम्ममा तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको कार्यालयको तथ्याङ्क शाखा प्रमुख प्रकाश क्षेत्रीले जानकारी दिनुभयो । यस अवधिमा १३ हजार ८८६।७७ मेट्रिक टन चिया निर्यात भएको छ ।

