इटहरी । धनकुटाको हिलेबाट सुनसरीको इटहरीतर्फ आउँदै गरेको यात्रुवाहक ईभी गाडीबाट लागुऔषध गाँजा फेला परेपछि चालकसहित दुई जना पक्राउ परेका छन् । प्रदेश १–०२–००१ ज ४५७५ नम्बरको यात्रुवाहक गाडीलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी सई रमेश प्रधान नेतृत्वको टोलीले आइतबार बिहान ७ः५० बजे साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा खानतलासी गरेको थियो । गाडीको सिटमुनि कालो झोलामा राखिएको अवस्थामा १२ किलोग्राम गाँजा फेला परेको धनकुटा प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए।

गाँजा गाडीमा सवार सहिदभूमि गाउँपालिका–६ निवासी अन्दाजी १९ वर्षीय प्रवेश राई बसेको सिटमुनि फेला परेको हो। झोलाबाट गाँजा फेला परेपछि प्रहरीको टोलीले राईसहित गाडी चालक धनकुटा नगरपालिका–१ हिलेका ३९ वर्षीय दिनेश तामाङलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअनुसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको ।