इटहरी । दुहबी २ स्थित श्री नविन शिक्षा निकेतन आधारभूत विद्यालयमा अटिजम भएका विद्यार्थीहरूको सहज पठन–पाठनका लागि नयाँ भवन निर्माणको सिल्यानास गरिएको छ । विद्यालय प्रांगणमा आयोजित एक विशेष समारोहबीच पुर्व महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री तथा संघीय सांसद भगवती चौधरको प्रमुख आतिथ्यतामा उक्त भवनको शिल्यानास सम्पन्न भएको हो । गत वर्ष मन्त्री पदमा रहँदा उहाँले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको बजेटमार्फत यस भवन निर्माणको लागि आवश्यक रकम विनियोजन गर्नुभएको थियो । सिल्यानास कार्यक्रममा बोल्दै सांसद चौधरीले विशेष आवश्यकताका विद्यार्थीहरूलाई सहज, समावेशी र गुणस्तरीय शिक्षा दिन सकिने वातावरण तयार पार्न विद्यालय तथा समुदायको सहकार्य अपरिहार्य रहेको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक, स्थानीय जनप्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको सो कार्यक्रममा भवन निर्माणले विशेष आवश्यकता भएका बालबालिकाको शैक्षिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ । नयाँ भवनको निर्माण कार्य चाँडै सुरु गरिने र निर्धारित समयभित्र सम्पन्न गरिने विद्यालय प्रशासनले जनाएको छ ।