इटहरी । सुनसरीको रामधुनी नगरपालिकाको वडा नं. २ नेपाल तरुण दलको वडा कार्य समिति विस्तार गरिएको छ । रामधुनी नगरको वडा कार्य समिति विस्तार कार्यक्रम अन्तर्गत आयोजित औपचारिक बैठक तथा छलफलपछि नयाँ नेतृत्व चयन गरिएको हो । स्थानीय युवा राजनीतिक चेतनाको प्रतिनिधित्व गर्ने नेपाल तरुण दलले युवाहरूलाई राजनीतिमा सक्रिय गराउने उद्देश्यले देशभर विविध गतिविधिहरू गर्दै आएको छ । यसै सन्दर्भमा, रामधुनी वडा नं. २ मा नयाँ जोश, उत्साह र दिगो नेतृत्व विकासको आशामा नयाँ कार्यसमिति गठन गरिएको छ । कार्यसमितिमा अध्यक्ष महेश साह,उपाध्यक्षहरू रेखा, महमद मक्सुद, बिनय चौधरी,सचिव सालिग्राम चौधरी, सह–सचिवः गोपाल चौधरी रहेका छन् । सदस्यहरू प्रतीक चौधरी, रनिश चौधरी, आयुष चौधरी लगाए सदस्यहरूलाई सर्वसम्मतिले चयन गरिएको छ । कार्यक्रममा बोल्दै उपस्थित नेताहरूले समावेशी नेतृत्व, संगठनात्मक सुदृढीकरण र स्थानीय स्तरमा युवाको भूमिका बढाउने विषयमा जोड दिएका थिए । अध्यक्षमा निर्वाचित महेश साहले आफूले युवाहरूको हकहितका पक्षमा निडर रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले संगठनलाई थप गतिशील बनाउँदै स्थानीय विकासमा सशक्त भूमिका खेल्ने आश्वासन दिनु भयो । उपस्थित तरुण साथीहरू, स्थानीय प्रतिनिधिहरू र वरिष्ठ नेताहरूले समितिको सर्वसम्मत चयनलाई लोकतान्त्रिक अभ्यासको एक प्रेरणादायी नमूना भन्दै स्वागत गरे । समावेशिता, सक्रियता र जवाफदेहिता आधारित नेतृत्व आवश्यक रहेको उनीहरूले बताएका छन् । यस नयाँ समितिको चयन सँगै रामधुनी वडा नं. २ मा युवा नेतृत्व प्रति विश्वास र आशा थप बलियो भएको छ । अबको कार्यकालमा समिति सदस्यहरूले संगठनात्मक वृत्तमा मात्र सीमित नभई सामाजिक, शैक्षिक र युवामैत्री कार्यक्रम मार्फत व्यापक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।


