इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । वडा नं. १० मा रहेको जिरीखिम्ती खेल मैदानमा क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि समेत रहनुभएका उप–प्रमुख काफ्लेले ब्याट वितरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटन खेलमा आयोजक डाँस मोरङ्गी क्रिकेट टिम र इस्टर्न बुलेट क्रिकेट टिम दुहवी बीच भएको थियो । पहिलो खेलमा डाँस मोरङ्गी क्रिकेट टिम बिजयी भएको थियो । इस्टन बुलेट क्रिकेट टिम दुहबीले दिएको ९५ रनको टार्गेटलाई पथरी शनिश्चरे वडा नं १० स्थित डाँस मोरङ्गी क्रिकेट टिमले ३ विकेट गुमाउँदै ११ ओभरमा ७ विकेटले जित निकालेको थियो । उक्त म्याचको म्यान अफ दि म्याच उमर सहनी घोषित भए । उनलाई कन्चनजङ्गा दैविक प्रकोप व्यवस्थापन समूहका अध्यक्ष सागर थापा र पूर्व जनप्रतिनिधि युवा समाजसेवी अनुज घिमिरेले १ हजार नगद सहित मेडल प्रदान गर्नुभएको थियो। उमरले चार ओभरमा पाँच विकेट लिँदै ७ रन खर्चिएका थिए । कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समूहको आयोजनामा सुरु भएको टी –२० फम्र्याटको प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका १६ वटा क्रिकेट टोली सहभागी रहेको आयोजकका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा वडा नं. १० का वडा सदस्यहरु दिलबहादुर कार्की, वीरबहादुर बस्नेत, समाजसेवी मदन पोख्रेल, डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष हरि निरौला, स्थानीय समाजसेवी खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताको बिजेता टोलीलाई नगद ५० हजार रुपैयाँ सहित ट्रफी प्रदान गरिनेछ भने उपबिजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, उदयमान खेलाडी तथा सर्वश्रेष्ठ खेलाडीलाई पनि नगद सहित ट्रफीबाट पुरस्कृत गरिने आयोजक सचिव प्रेम केडी भट्टराईले बताउनुभयो । आजै, भएको दोस्रो खेलमा झापाको मेचीनगर क्रिकेट टिमले सुनसरीको बराह क्रिकेट टिमलाई १०८ रनको लक्ष्य दिएको थियो । यो समाचार तयार पार्दासम्म खेल संचालन भैरहेको आयोजकले जनाएको छ ।


