इटहरी । उर्लाबारी नगरपालिकामा चालु आर्थिक वर्षका विकास निर्माण लगायतका योजनाहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् । नगरपालिकाले विभिन्न वडामा सञ्चालित योजनाहरूको प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न नगरस्तरीय अनुगमन टोली खटाएको छ । अनुगमन टोलीको संयोजन नगर उपप्रमुख मीना खतिवडा पौडेलले गरिरहनुभएको छ । टोलीमा प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, अनुगमन समिति सदस्यहरू कृष्णमाया कडरिया, कृष्ण वर्देवा, इन्जिनियर पोखराज साह लगायतका प्राविधिकहरू सहभागी थिए । टोलीले सडक, ढल, खानेपानी, भवन निर्माण लगायतका योजनाको स्थलगत निरीक्षण गरेको छ । अनुगमनका क्रममा कतिपय योजनामा प्रगति सन्तोषजनक रहेको देखिएको छ भने केही योजनामा ढिलासुस्ती देखिएको जनाइएको छ । उपप्रमुख खतिवडा पौडेलले विकास निर्माणमा गुणस्तर कायम गर्न कुनै सम्झौता नहुने बताउँदै अनुगमन नियमित गरिने स्पष्ट पार्नुभयो । प्रमुख प्रशासकीय अधिकृत गुप्ताले योजनाको पारदर्शिता, समयमै सम्पन्नता र जनउत्तरदायित्वमा जोड दिनुभएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षण सँग सम्बन्धित विभिन्न योजना सञ्चालन गर्दै आएको छ ।


