सुनसरी | नेपाल खेलकुद महासंघ सुनसरीको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा बिकल पौडेल निर्वाचित हुनुभएको छ।
सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनले सर्वसम्मत निर्णयका आधारमा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षमा निर्वाचित भएपछि पौडेलले खेलकुद क्षेत्रको सशक्त विकास र संस्थागत सुदृढीकरणमा आफू पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभयो। "जिम्मेवारी गम्भीर छ, तर समर्पणका साथ काम गर्छु," पौडेलले अधिवेशनपछिको मन्तव्यमा भन्नुभयो।
उहाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष रहनुभएको थियो। घोषले खेलकुद क्षेत्रको समन्वय र विकासलाई अझ प्रभावकारी बनाउने दिशामा नयाँ नेतृत्वले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
पौडेलको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा उपाध्यक्षमा इन्दु भट्टराई र रविन खड्का, सचिवमा सरोज बस्नेत, उपसचिवमा विष्णु श्रेष्ठ र गणेश तामाङ, तथा कोषाध्यक्षमा विष्णु पराजुली चयन भएका छन्। साथै २० सदस्यीय समितिमा जिल्लाका विभिन्न क्षेत्रका प्रतिनिधिहरू समावेश छन्।
अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य लक्ष्मी गौतम, प्रदेश सदस्य कालुराम गुरूङ, श्रम तथा रोजगार विभागका सदस्य सरोज पोखरेल, विभिन्न पालिका प्रतिनिधि, खेलाडी तथा संघसंस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले स्थानीय तहमा खेलकुद प्रवर्द्धनमा नयाँ नेतृत्वले आशा जगाउने विश्वास व्यक्त गरेका थिए।


