इटहरी । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा मेची करिडोर सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पगेको छ । इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान धमाधम भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा बेलिब्रिज निर्माण भइरहेको हो । यही जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरी बेलिब्रिज निर्माण भइरहेको उहाँले बताउनुभयो । बेलिब्रिज ४८ दशमलव ६ मिटर (१६० फिट) लम्बाइको हुनेछ । निर्माण कम्पनीले ठेक्का पाएको बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो । बेलिब्रिज निर्माण सम्पन्न भएपछि बर्सातको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ । यसले त्यस क्षेत्रमा सामान ढुवानी गर्न र यात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।
मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि विर्तामोडसम्म ५० किलोमिटर दूरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ । बाँकी रहेको भागमा समेत काम सुरु गर्ने प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईले बताउनुभयो ।


