मोरङ | नेपाल तरुण दल मिक्लाजुङ गाउँपालिकाको प्रथम अधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। अधिवेशनले गाउँपालिकाभित्र युवाहरुको सशक्त सहभागिता र संगठन सुदृढीकरणप्रतिको प्रतिबद्धता झल्काएको छ।
अधिवेशन नेपाल तरुण दल पाँचथर जिल्ला अध्यक्ष सुमन लामाको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री विष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
अधिवेशनबाट नेपाल तरुण दल मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा योगधन लावति,उपाध्यक्षहरू गोविन्द गौतम र तारा तामाङ,सचिव प्रकाश आले र कोषाध्यक्ष रेखा मगर सर्वसम्मतिले निर्वाचित भएका हुन् ।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा वरदान चेम्जोङ, दिनेश आङ्देम्बे, सूर्य आङ्देम्बे, प्रवेश माखिम, मणिकुमार तामाङ, प्रताप कुमार राई, राजकुमार राई, नरेश लावती, पदमबहादुर मगरलगायत ३५ जनाको समिति गठन गरिएको छ।
प्रमुख अतिथि भिष्मराज आङ्देम्बेले आफ्नो मन्तव्यमा युवाहरूलाई संगठनभित्रको विकृति र विसंगतिका विरुद्ध सशक्त रूपमा उभिन आग्रह गर्दै, पार्टीलाई सुधार र निर्माणको बाटोमा लैजान नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
जिल्ला अध्यक्ष सुमन लामाले युवाहरूले सामाजिक सञ्जालमा हुने नकारात्मक टिप्पणी, चरित्र हत्या र भ्रमपूर्ण सूचनाको अन्त्य गर्दै सकारात्मक सोच, समावेशी सहभागिता र निष्ठाको आधारमा पार्टीलाई सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो।
नवनिर्वाचित अध्यक्ष योगधन लावतीले अधिवेशनपश्चात् मन्तव्य दिँदै सबै सदस्यहरूको विश्वासलाई सम्मान गर्दै पारदर्शिता, जवाफदेहिता र क्रियाशीलताका साथ कार्यसमितिलाई अगाडि बढाउने बताउनुभयो।
अधिवेशनले मिक्लाजुङ गाउँपालिकाभित्र युवाहरुबीच नयाँ जोश, एकता र सशक्त कार्यदिशाको संकेत दिएको छ। नवनिर्वाचित टोलीबाट अब संगठन थप मजबुत, अनुशासित र परिणाममुखी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री भीष्मराज आंगदम्बे, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति रूपनारायण जबेगु, नेपाली कांग्रेस निवर्तमान सभापति नरेन्द्र कुमार केरुङ, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिका सदस्य धनराज तुम्बापो लगाएत नेपाल तरुण दल मिक्लाजुङका पदाधिकारीहरू क्षेत्रीय तथा स्थानीय नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा विभिन्न नेताहरूले बोल्दै वर्तमान राजनीतिक परिप्रेक्ष्यमा युवाहरूको भूमिकालाई विशेष रूपमा उल्लेख गरे।


