इटहरी । प्रथम संस्करणको सुब्बा फुटसल कप इटहरीको उपाधि राम अधिकारीको समूह ग्रुप इ ले उचालेको छ । सुनसरी जिल्ला भित्र रहेका म्यानपावर कम्पनी र मेडिकल सेन्टर बिच आयोजना गरिएको प्रतियोगितामा म्यानपावर व्यवसायीका तर्फबाट ग्रुप इ ले म्यानपावर व्यवसायीको ग्रुप सी लाई ४–२ गोल अन्तरले उपाधि जितेको हो । इटहरी ५ स्थित पाथीभरा फुटसल मैदानमा आयोजित प्रतियोगितामा उपाधि जित्दै ग्रुप इ ले ५० हजार रुपैयाँ नगद, रनिङ सिल्ड ,ट्रफी र मेडल हात पार्न सफल भयो भने उपविजेता ग्रुप सी ले ३० हजार रुपैयाँ नगद, ट्रफी र मेडल हात पार्न सफल भयो । त्यस्तै तेस्रो स्थानमा भने ग्रुप बिले २० हजार रुपैयाँ नगद र सिल्ड हात पार्यो । विजेता टिमहरूलाई प्रमुख अतिथि सुनसरी वैदेशिक रोजगार हकहित सङ्घका अध्यक्ष चंखमान तामाङ र आयोजक सगुन ओभरर्सिज सर्भिसेस प्रा.ली. इटहरीका प्रबन्ध निर्देशक बिरेन सुब्बा तथा अतिथिहरूले पुरस्कार र नगद हस्तान्तरण गर्नुभएको थियो । यस्तै प्रतियोगिताको म्यान अफ द म्याच दीपक बस्नेत, वेस्ट हाई स्कोरको उपाधि भने आसिक तामाङले जित्नुभएको थियो । राइजिङ प्लेयरको उपाधि देवेन्द्र गुरुङ, बेष्ट गोलकिपर सन्तोष थापा र वेस्ट प्लेयर दिल बहादुर लिम्बुले प्राप्त गर्नुभयो । एक मेडिकल टिम सहित ६ वटा म्यानपावर कम्पनीको सहभागि रहेको प्रतियोगितामा सुनसरी जिल्ला भरका म्यानपावर व्यवसायी र मेडिकल सेन्टरका सञ्चालकहरूको उपस्थिति रहेको थियो । आयोजक सगुन ओभर्सिज सर्भिसेस प्रा.लि.का प्रबन्ध निर्देशक बिरेन सुब्बाले प्रत्येक वर्ष पुरस्कार राशि वृद्धि गरिने र सुब्बा कपलाई सामाजिक रूपमा सबैमाझ जोड्दै जाने आफ्नो योजना रहेको जानकारी दिनुभएको छ । प्रतियोगिताले म्यानपावर व्यवसायीहरू बिचको एकता र सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने प्रबन्ध निर्देशक सुब्बाको भनाई छ ।


