इटहरी । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सी अन्तर्गतको रिजन कन्फ्रेन्स इटहरीमा सम्पन्न भएको छ । सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरण जस्ता महत्वपूर्ण विषयमा केन्द्रित गर्दै मुक्तिनाथ घिमिरेको अध्यक्षतामा रिजन कन्फ्रेन्स सम्पन्न भएको हो । लायन्स क्लबका विभिन्न तहमा क्रियाशील रहेका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब डिस्ट्रिक ३२५ सी का गभर्नर लायन विकास अधिकारीले लायन्स क्लबको विगतका उपलब्धिहरू र आगामी कार्ययोजनाहरू बारे प्रकाश पार्नुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन लायन्स क्लबको भूमिका झनै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न वक्ताहरूले सामाजिक सेवाको दायरा विस्तार, युवा पुस्ताको सहभागिता अभिवृद्धि, नेतृत्व विकासका रणनीतिहरू, तथा क्लबहरूको आन्तरिक सुदृढीकरणका उपायहरूबारे विचार साझा गरेका थिए । सहभागीहरूले स्थानीय स्तरमा लायन्स क्लब मार्फत सञ्चालन भइरहेका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा अझ सशक्त र संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अध्यक्ष लायन घिमिरेले सहभागी सबैलाई धन्यवाद दिँदै लायन्स क्लबले समाजमा थप जिम्मेवारीका साथ सेवा पु¥याउने प्रतिबद्धता दोहोर्याउनुभयो । सामाजिक उत्तरदायित्वलाई मूर्तरूप दिँदै विश्वव्यापी स्तरमा कार्यरत लायन्स क्लब इन्टरनेसनलले नेपालमा पनि विशेषगरी शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तीकरण र विपद् व्यवस्थापनमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ ।


