इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं २ को वडा कार्यालयले अति विपन्न वर्गका किसानहरूलाई विउ – बाख्रा पाठी वितरण गरेको छ । वडा कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पशुपालक किसानहरुलाई उन्नत जातका बिउ – बाख्राको पाठी वितरण गर्नुभएको हो । वडा कार्यालयको ६० हजार रुपैयाँको बजेटबाट वडाका अति विपन्न नागरिकहरूलाई बिउ बाख्राको पाठी वितरण गरिएको वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनुभयो । बाख्राको विउ पाठी पाउने किसानहरूले पाठीले बच्चा जन्मेपछि एउटा पाठी वडा कार्यालयलाई बुझाउनुपर्ने र उनीहरूले बुझाएको पाठीहरू पुनः अरु किसानहरूलाई वितरण गरिने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो । सोही अवसरमा बाख्रापालकहरुलाई घाँस खुवाउँन सजिलो होस् भनेर चौतारी महिला उद्यमी सहकारी संस्थाले चार जातका घाँसका बिउहरू पनि वितरण गरेको थियो ।


