इटहरी । ट्राफिक व्यवस्थापनमा निरन्तर सक्रिय रहँदै आएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीको आयोजना तथा इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रा. लि., इटहरीको सहकार्यमा एक दिने अभिमुखीकरण तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ट्राफिक कार्यालय परिसरमै आयोजना गरिएको थियो, जसमा इटहरी आसपासका क्षेत्रका ट्राफिक प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । दिनभर सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरूको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत फोक्सो परीक्षण, उच्च रक्तचाप परीक्षण, मधुमेह जाँच, शरीरको तौल तथा बीएमआई परीक्षण जस्ता स्वास्थ्य सेवाहरू प्रदान गरिएको हो । कार्यक्रमको विशेष आकर्षणका रूपमा अनुभवी चिकित्सकहरू मार्फत अभिमुखीकरण सत्र सञ्चालन गरिएको थियो । उक्त सत्रमा सहभागीहरूलाई फोक्सो रोग, उच्च रक्तचाप, तनाव व्यवस्थापन, पोषणयुक्त आहार, नियमित व्यायामका महत्वबारे विस्तृत जानकारी दिइएको थियो। चिकित्सकहरूले विशेष गरी ट्राफिक प्रहरीहरूको कार्यशैली, लामो समय सम्मको धूलो–धूँवामा रहने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यमैत्री व्यवहार, सावधानी र उपचारबारे आवश्यक परामर्श दिएका थिए । कार्यक्रममा बोल्दै ट्राफिक कार्यालय इटहरीका एक वरिष्ठ अधिकृतले प्रहरीहरू आफ्नो सेवा दायित्वमा सधैं व्यस्त रहने भएकाले उनीहरूको स्वास्थ्य पनि संस्थागत रूपमा जाँच र निगरानीमा राखिनु अत्यन्त जरुरी रहेको बताउनुभयो । कार्यक्रममा इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिकका विभिन्न विशेषज्ञ चिकित्सकहरू, ट्राफिक कार्यालयका अधिकृतहरू, स्वास्थ्यकर्मीहरू तथा करिब ५० जना ट्राफिक प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।


