इटहरी। पाँच धर्मका धर्मगुरु एकै स्थानमा बसेर धर्मभित्र विभेदका विषयमा छलफल र बहस गर्ने अवधारणाका साथ मोरङको लेटाङ नगरपालिकामा अन्तरधार्मिक शान्तिपार्क निर्माण भइरहेको छ । नगरको गौरवको आयोजनाका रूपमा शान्तिपार्क निर्माण गरिएको हो । नेपालमा अन्यत्र कतै पनि पाँच धर्मका अनुयायी एउटै स्थानमा बसेर ध्यान गर्ने, छलफल गर्ने ठाउँ छैन । त्यसैले यो पार्कलाई देशको एउटा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने गरी काम सुरु गरिएको लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले छ करोड आठ लाख रुपियाँको लागत परियोजना निर्माण गरी सङ्घीय सरकारमा पठाएको थियो ।
सङ्घीय सरकारको ६५ प्रतिशत र लेटाङ नगरपालिकाको ३५ प्रतिशत लागत साझेदारीमा अन्तरधार्मिक शान्तिपार्क निर्माण सुरु भएको नगरप्रमुख लावतीको भनाइ छ । लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा एक करोड रुपियाँ विनियोजन गरेको थियो । उक्त रकमबाट शान्तिपार्कको जग निर्माण गरी पहिलो तला ढलान सम्पन्न भएको छ । नगरको वडा नं। १ राजारानीमा निर्माण भइरहेको यो पार्कमा संसारभर मानिने प्रमुख धर्मका गुरुहरू बसेर अन्तरधर्मका विषयमा छलफल र बहस गर्ने छन् । तत्कालीन लेटाङभोगटनी नगरपालिका हुँदा ‘एक नगरपालिका एक पहिचान’ कार्यव्रmम अन्तर्गत २०७२ मा ऐतिहासिक राजारानी पोखरी परिसरमा अन्तरधार्मिक शान्तिपार्क निर्माण गर्ने कार्यव्रmम तय भएको थियो तर बजेटको अभावमा शान्तिपार्क निर्माणको काम अगाडि बढ्न सकेको थिएन । हाल शान्तिपार्क छ कट्ठा जग्गामा निर्माण भइरहेको छ । पाँच करोड २९ लाख रुपियाँमा फुलमन डेभलपर्स प्रालिले ठेक्का लिएको शान्तिपार्क निर्माणको काम तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको वडा नं। १ का वडाध्यक्ष विष्णुबहादुर मगरले बताउनुभयो ।
हालसम्म ४७ प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको वडाध्यक्ष मगरले बताउनुभयो । हिन्दु, बौद्ध, मुस्लिम, किराँत र इसाई धर्मका गुरुहरू एउटै मञ्चमा बसेर अन्तरधर्मका विषयमा बहस गर्न सकून् भन्ने प्रमुख उद्देश्यले शान्तिपार्क निर्माण गर्न लागिएको सामुदायिक विकास मञ्च नेपाल ९सिडिएफ० का अध्यक्ष रामचन्द्र बुढाथोकीले बताउनुभयो । अन्तरधार्मिक शान्तिपार्कको ‘मिनियचर’ ९नमुना० माथि सबै धर्मका गुरुको साझा धारणा निर्माण भएपछि शान्तिपार्क निर्माणको अवधारणा आएको सिडिएफ नेपालका तत्कालीन निर्देशक एवं हालका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले स्पष्ट पार्नुभयो । नगरप्रमुख लावतीले शान्ति, सद्भाव र मेलमिलापको प्रतिविम्बका रूपमा शान्तिपार्क रहने बताउनुभयो । हालको मन्दिरडाँडामा निर्माण गरिने शान्तिपार्कको भ्यु टावरबाट प्राकृतिक दृश्यावलोकन गर्न सकिने छ । पार्कमा पाँच धर्मका पाँच द्वार राखिने छ । चारतले पार्कमा हरेक धर्मले आफ्नो द्वारबाट प्रवेश गरेपछि आफ्ना धर्मग्रन्थ, सांस्कृतिक पहिचान खुल्ने सामग्री र धर्मका हाँगाबिँगाको झलक हेर्न पाउने छन् । सबैभन्दा माथिल्लो तलाबाट वरिपरि घुमेर दृश्यावलोकन गर्न सकिने छ । संसारभर धर्मका नाममा लडाइँ चलिरहेका बेला लेटाङले निर्माण गरिरहेको अन्तरधार्मिक शान्तिपार्कले सबै धर्मावलम्बीलाई एकै स्थानमा जोड्ने र विभेद अन्त्य हुने स्थानीयको अपेक्षा छ ।


