इटहरी। नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले संविधानमा लैङ्गिक समानताको विषयमा स्पष्ट रूपमा उल्लेख गरेको भएपनि पार्टीहरु नै कार्यान्वयनको पक्षमा कमजोर रहेको बताउनुभएको छ । मङ्गलवार जिपि कोइराला लेवर फाउन्डेसनले विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताको प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले यस्तो बताउनुभएको हो । मानिसमा भएको अहमताका कारण समानताको विषयले सार्थक रूप लिन नसकिरहेको उहाँले बताउनुभयो । नेता कोइरालाले लैङ्गिक समानताका सन्दर्भमा ट्रेड युनियनहरूले गरेको भूमिकाको प्रशंसा समेत गर्नुभयो । महिला र पुरुषले समान काम गरे पनि खास गरी अनौपचारिक क्षेत्रहरूमा समान पारिश्रमिक समेत नपाउने बताउनुभएका कोइरालाले ट्रेड युनियनको प्रतिनिधित्व पार्टीमा हुनुपर्नेमा जोड दिनुभयो ।