इटहरी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला सङ्घ क्षेत्र नं. १, सुनसरी अन्तर्गत रहेका सबै वडाहरूमा क्रियाशील सदस्यता फारम संकलनको कार्य सम्पन्न भएको छ । महिला सङ्घ क्षेत्र नं. १ की सभापति नेत्रकुमारी राईको समन्वयमा सम्पूर्ण वडास्तरमा कार्यरत महिला नेतृहरूको सहभागिता सुनिश्चित गरिँदै फारम संकलन गरिएको हो । फारमहरू नेपाल महिला सङ्घ जिल्ला समिति, सुनसरीमा औपचारिक रूपमा बुझाइएको छ । सो क्रममा महिला सङ्घ प्रदेश सभापति निर्मला नेपाल शर्माले महिलाहरूको सक्रियता र सहभागिता पार्टीको मेरुदण्ड हो भन्ने धारणा व्यक्त गर्दै, क्रियाशील सदस्यता वितरण कार्यले आउँदा दिनहरूमा संगठनभित्र नयाँ उर्जा भर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, सभापति नेत्रकुमारी राईले फारम संकलनका क्रममा आएको सकारात्मक उत्साह र सहभागिताबाट आफू उत्साहित भएको बताउँदै सङ्घीय संरचनामा वडा देखि जिल्ला तहसम्म महिलाको प्रतिनिधित्व र नेतृत्व आवश्यक रहेको जीकिर गर्नुभयो । नेपाल महिला सङ्घ सुनसरीले आगामी दिनमा अझ सशक्त रूपमा महिला अधिकार, सामाजिक न्याय, र राजनीतिक सशक्तीकरणका पक्षमा अभियानहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा महिला सङ्घका प्रदेश, नगर तथा अन्य तहका नेतृहरूको उल्लेखनीय उपस्थिति थियो ।