इटहरी । तेह्रथुमको आठराई गाउँपालिकाले ‘दलित विद्यार्थी उच्च शिक्षा प्रोत्साहन तथा क्षमता विकास कार्यक्रम’ अन्तर्गत उच्च शिक्षा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अनुसार पालिकाले दलित विद्यार्थीहरूको शैक्षिक उन्नयन र क्षमता अभिवृद्धिलाई लक्षित गर्दै उच्च शिक्षा छात्रवृत्ति वितरण गरेको हो । गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न तहमा अध्ययनरत दलित विद्यार्थीलाई आर्थिक अवस्था, शैक्षिक प्रगति र आवश्यकताका आधारमा छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष पाहिमले दलित समुदायको शैक्षिक सशक्तीकरण र समावेशी विकासको दिशामा गाउँपालिकाले निरन्तर प्राथमिकता दिँदै आएको बताउनु भयो । उहाँले शिक्षा नै दीर्घकालीन सामाजिक परिवर्तनको आधार रहेको जनाउदै दलित विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न उत्प्रेरित गर्नु भनेको आत्मनिर्भर भविष्यतर्फ अघि बढाउने बाटो खोल्नु रहेको बताउनुभयो । त्यस्तै उपाध्यक्ष बलिराज ईङनामले दलित विद्यार्थीहरूको प्रगतिको लागि नीति मात्र होइन, कार्यान्वयन र नियमित अनुगमन पनि आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा छात्रवृत्तिबाट लाभान्वित हुने विद्यार्थीले यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई गर्व लागेको अनुभव सुनाएका थिए । गाउँपालिकाले आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूको हौसला बढाइदिएको र पढाइलाई निरन्तरता दिन झनै सहज बनाउने उनिहरुको भनाइ थियो । गाउँपालिकाले भविष्यमा पनि शिक्षा र सामाजिक समावेशीतालाई केन्द्रमा राखी नीतिगत कार्यक्रमहरू ल्याइने प्रतिबद्धता जनाएको छ ।