इटहरी । धनकुटामा किराती समुदायले दोस्रो महत्वपूर्ण चाड उभौली साकेला केलाङ साँस्कृतिक उत्सव धुमधामका साथ मनाएका छन् । किराती समुदायले धनकुटाका विभिन्न ठाउँमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी उभौली साकेला केलाङ साँस्कृतिक पर्व धुमधामका साथ मनाएका हुन् । यस्तै साँगुरीगढी गाउँपालिका–१, स्थित लावरबोटे रहेको साकेला केलाङ पार्क र सहिदभूमि गाउँपालिका– १ स्थित गोपालपुरमा बिभिन्न कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रममा साकेला केलाङ नृत्य प्रतियोगिताको आयोजना समेत गरीएको थियो । जसमा छिमेकी जिल्लाबाट समेत नृत्य प्रतियोगितामा सहभागि हुन आएका थिए । साकेला बैशाख पूर्णिमा देखी एक महिना भरी मनाउने गरेको लेउती जलाधार प्रकृतिक साँस्कृतिक प्रर्वद्धन समितिका अध्यक्ष बलबहादुर राईले जानकारी दिनुभयो । किरात राईको दोस्रो महान् चाड उभौलीमा अन्नबाली भित्त्र्याउनु अगाडी प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । मुन्धुम अनुसार समयलाई उधौली र उभौली गरी दुई भागमा वर्गीकरण गरीएको छ । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाउने गरेका छन्। खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो भने बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने चलन रहेको छ ।


