रामधुनी | सुनसरीको रामधुनी नगरपालिकामा प्रमुख तथा उपप्रमुखसँग स्थानीय सरोकारवालाहरूको सहभागितामा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

नगर विकास, सेवा प्रवाह, सांस्कृतिक सम्पदा संरक्षण र स्थानीय समस्याहरू समाधानका विषयमा केन्द्रित यो कार्यक्रम कोशी मिडिया नेटवर्क, इटहरीको आयोजनामा तथा रामधुनी नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य उद्देश्य नगर भित्र भइरहेका विकासका कामहरू, नागरिकको पहुँच, सेवा प्रवाहको गुणस्तर, स्थानीय तहसँग जनताको अपेक्षा, समस्या समाधानका सम्भाव्यता तथा भावी योजनाबारे गहिरो छलफल गरिएको थियोे ।

कार्यक्रममा रामधुनी नगरपालिका उपप्रमुख तारा थापा प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो। सो कार्यक्रममा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलले उपप्रमुख थापासँग नगरमा देखिएका विविध समस्या, जनताको गुनासो, योजनाको प्रभावकारिता र स्थानीय जनताको भूमिकाबारे संवाद गरेका थिए। उपस्थित स्थानीय सरोकारवालाहरूले समेत नगरपालिकाले पूरा गरेका र अपूरा रहेका योजनाहरू, बजेटको पारदर्शिता, जनसहभागिता, युवाको भूमिकाजस्ता विषयमा आफ्ना विचार राखेका थिए।

स्थानीय समाजसेवी हर्सलाल चौधरीले नगर विकासका कामहरूमा अझ सक्रियता र पारदर्शिता आवश्यक रहेको बताउँदै भने, “स्थानीय तहको काममा जनताको निगरानी र सल्लाह अत्यावश्यक छ। 

अन्तरक्रिया कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र अभिलेखीकरणसम्बन्धी थियो। कार्यक्रममा नगरपालिकाभरि रहेका करिब १२५ वटा शिरा थान तथा ग्रामथानहरूको सूची तयार पारिएको जानकारी दिइयो। ती सम्पदाको संरक्षणका लागि सम्बन्धित ऐनको निर्माण, लागत दस्तावेज पुस्तिका तथा ती थानहरूमा गाइने पौराणिक गीतहरूको लेखन र दस्तावेजीकरणका लागि आवश्यक प्रक्रिया सुरु गरिएको समेत उपप्रमुख थापाले जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, महिला समूह, युवा प्रतिनिधि, शिक्षक, पत्रकार, तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्थानीय तहको जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू निरन्तर हुनुपर्ने आवश्यकता औंल्याएका थिए।

उक्त कार्यक्रमले स्थानीय सरकार र जनताको बीचको दूरी घटाउने, विकासप्रति जनताको सरोकार बढाउने तथा योजनालाई जनमुखी बनाउने दिशामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा लिइएको छ।