रामधुनी — स्थानीय मौलिक सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धनका लागि रामधुनी नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम अन्तर्गत शिरा थान तथा ग्रामथान सम्बन्धी सचेतना अभिवृद्धि, विस्तृत लगत दस्तावेज हस्तान्तरण, पौराणिक भजन गीतको लेखन तथा दस्तावेजीकरण, साथै परम्परागत वाद्यवादन तालिम सञ्चालन गरिएको छ।

ग्रामथान संरक्षण समिति रामधुनीको आयोजना तथा रामधुनी नगरपालिकाको सहकार्यमा ग्रामथान संरक्षण समिति अध्यक्ष सीता चौधरीको अध्यक्षता र रामधुनी नगरपालिका उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, थारू कल्याणकारी सभा सुनसरीका सभापति सगेन चौधरी, महिला समूहका प्रतिनिधिहरू, युवा अगुवा, स्थानीय नागरिक तथा सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा रामधुनी नगरपालिकाभित्र रहेका करिब १२५ वटा शिरा थान तथा ग्रामथानहरूको विस्तृत सूची तयार गरिएको जानकारी गराइयो। ती थानहरू ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण रहेको भन्दै तिनको संरक्षणको निम्ति कानुनी र दस्तावेजी आधार तयार पारिने जनाइएको छ।

कार्यक्रममा बोल्दै ग्रामथान संरक्षण समिति अध्यक्ष सीता चौधरीले सम्पदाको संरक्षणका लागि समाजकै सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। "ग्रामथानहरू हाम्रो संस्कृतिको आधार हुन्। तिनको संरक्षण नगरी हाम्रो मौलिकता जोगिन्न," अध्यक्ष चौधरीको भनाइ थियो।

त्यस्तै, उपप्रमुख तारा थापाले रामधुनी नगरपालिकाले स्थानिय संस्कृति तथा परम्पराको संरक्षणलाई नीति तहमै प्राथमिकता दिएको बताउँदै हालको कार्यक्रम त्यसैको एउटा उदाहरण भएको स्पष्ट पारिन्। “हामीले कानुनी संरचना, लागत विवरण र पौराणिक गीतहरूको दस्तावेजीकरणमार्फत यस्ता सम्पदाहरूलाई पुस्तान्तरण गर्ने प्रयास गरिरहेका छौं,” उनले भनिन्।

कार्यक्रम अन्तर्गत स्थानीय वाद्यवादन प्रशिक्षकद्वारा थारू समुदायमा प्रयोग हुने परम्परागत वाद्ययन्त्रहरूको परिचय, प्रयोग विधि, र संरक्षण उपायहरूबारे प्रशिक्षण पनि प्रदान गरिएको थियो। साथै, थानहरूमा परम्परागत रूपमा गाइने पौराणिक भजन–गीतहरूको संकलन, लेखन तथा अभिलेखिकरण प्रक्रिया पनि सुरु गरिएको छ।

उक्त कार्यक्रमले मौलिक संस्कृति, धर्म, विश्वास र परम्पराको जगेर्नामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। आयोजकहरूका अनुसार आगामी दिनहरूमा थप ग्रामथानहरूको अध्ययन, संरक्षण योजना निर्माण र समुदायस्तरीय चेतनामूलक अभियानहरू समेत सञ्चालन गरिनेछ।