इटहरी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर कमिटीले २२ बुँदे माग र सुझाव सहित नगर प्रमुखको ध्यानाकर्षण गराएको छ। पार्टी संयोजक गौरिमान परियारको नेतृत्वमा एक प्रतिनिधि मण्डलले सोमबार इटहरी उपमहानगरपालिकाका नगर प्रमुखलाई भेटी ज्ञापन पत्र बुझाएको हो।
"सुशासन र रोजगारी, समाजवादको तयारी" भन्ने नाराका साथ पार्टीले सार्वजनिक गरेको उक्त ज्ञापनपत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहँदै इटहरीको वर्तमान स्थानीय शासनप्रणालीमा देखिएको कमजोरी, अनियमितता र जनअपेक्षासँग असंगत कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “पुराना तथ्यांकहरुसँग तुलना गर्दै गौरव गर्ने मात्र नभई बढ्दो जननिराशालाई सम्बोधन गर्दै आत्मासमीक्षा गर्नु जरुरी छ। जनतामा गणतन्त्रप्रति भरोसा कायम राख्न राज्यका उत्पादनमूलक क्षेत्रमा ध्यान दिन जरुरी छ।”
पार्टीले पेश गरेका प्रमुख मागहरूमा स्थानीय तहको खर्च संरचना, सुशासन, जनतामुखी सेवा तथा आर्थिक अनुशासनको विषयमा गम्भीर प्रश्न उठाइएका छन्।
यसका अतिरिक्त पार्टीले करको दायरा बढाउने, नागरिकलाई बोझ नपार्ने गरी कर नीतिमा सुधार गर्ने, सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन प्रक्रिया विधिसम्मत रूपमा गर्नुपर्ने, स्थानीय खोलाहरूमा दीर्घकालीन तटबन्धन गर्न प्रदेश र संघीय बजेट सुनिश्चित गर्नुपर्ने, लागूऔषध दुरुपयोग र चोरीका घटनाप्रति कडा निगरानी तथा नियन्त्रण गर्नुपर्ने जस्ता विषयमा समेत माग उठाएको छ।
ज्ञापनपत्रमा नगर प्रमुख हेमकर्ण पौडेललाई सधैंजसो पुरानै ढर्राको प्रशासनिक शैली अपनाउने प्रवृत्ति छाड्न चेतावनी दिइएको छ। जनताका निराशा, गुनासो र विश्वासको संकटप्रति गम्भीर भएर अभिप्रायपूर्ण सुधारको माग गरिएको छ।
संयोजक गौरिमान परियारले भने, "गणतन्त्रको मूल्य रक्षा गर्न, जनआशालाई सम्बोधन गर्न र इटहरीलाई आत्मनिर्भर, जनमुखी तथा सामाजिक न्यायमा आधारित शहर बनाउन हामीले यी मागहरू प्रस्तुत गरेका छौं। नगर सरकारको निष्क्रियता वा कमजोरीका कारण प्रतिगामी शक्तिहरू पुनः सक्रिय हुन खोजिरहेका छन्, जुन हामीले स्वीकार गर्न सक्दैनौं।”
पार्टीले आगामी आर्थिक वर्ष सुरु हुनुअघि नै प्रस्तुत मागबारे सार्वजनिक सुनुवाइ गर्न नगर सरकारलाई औपचारिक अनुरोध गरेको छ। मागपत्रमा उल्लेखित विषयहरू आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले तीप्रति स्पष्ट जवाफदेही कायम गरिनुपर्ने पार्टीको माग गरेको नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य केवल फुयालले जानकारी दिनु भयो ।
ज्ञापन पत्र बुझाउन कमला दुलाल, लेखनाथ खत्री लगायतका नेताहरूको उपस्थिती रहेको थियो । इटहरी उपमहानगरपालिका प्रशासनले यस सम्बन्धमा औपचारिक प्रतिक्रिया भने अहिलेसम्म दिएको छैन।


