इटहरी | इटहरी युथ ओपन क्र्यु र श्री राष्ट्रिय माध्यमिक विद्यालय/ट्रुपको संयुक्त आयोजनामा बिहीबार भएको एक भव्य र ऐतिहासिक स्काउट कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षणको रूपमा हाइक, खाना पकाउने प्रतियोगिता तथा दिक्षान्त समारोह रहेको थियो, जसमा कुल ९ सय ३९ जना सहभागी भएका थिए। सहभागीमध्ये ८ सय ५६ जना स्काउट, ४६ जना स्काउटर तथा प्रतिनिधि, र ३७ जना रोभर रेन्जर रहेका थिए । इटहरीका विभिन्न विद्यालयका दुई सय बढी विद्यार्थी स्काउटका रूपमा दीक्षित भएका छन् ।
कार्यक्रमको सभापतित्व राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सरन कुमार बस्नेतले गर्नुभएको थियो। कार्यक्रम संयोजकको रूपमा स्काउटर बन्दना दाहाल बस्नेतले जिम्मेवारी सम्हाल्नुभएको थियो।
तालतलैयामा पुग्नुअघि विद्यार्थीहरूले स्काउट पोशाकमा राष्ट्रिय माध्यमिक विद्यालयबाट झन्डै पाँच किलोमिटर लामो हाइक गरेका थिए। उत्सवझैं भएको यस स्काउट दीक्षा कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र सामाजिक जिम्मेवारीको भावना झन् प्रगाढ बनाएको सहभागीहरूले बताएका छन्।
खाना पकाउने प्रतियोगितामा बाल विकास ट्रुपले पहिलो स्थान प्राप्त गर्न सफल भयो भने विनायक ट्रुप, विराटनगरले दोस्रो स्थान र फुजिसान सगरमाथा ट्रुपले तेस्रो स्थान हासिल गरेको हो । त्यसै गरि , सरस्वती स्काउट ट्रुपले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भयो।
खाना पकाउने प्रतियोगिताको मुल्यांकन कार्यमा हिमाल बस्नेत, मनिष पोदार र सफल कार्की निर्णायकका रूपमा संलग्न हुनु भएको थियो।
कार्यक्रम सफल बनाउन तालतलैया विकास समितिले नि:शुल्क ठाउँ उपलब्ध गराई विशेष सहयोग पुर्याएकोले समितिलाई विशेष सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
उल्लेखनीय सहभागिता, उच्चस्तरीय व्यवस्थापन, र प्रेरणादायी वातावरणबीच सम्पन्न उक्त कार्यक्रमले इटहरी क्षेत्रको स्काउट गतिविधिमा नयाँ ऊर्जा र उत्साह थपेको इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्र प्रसाद दाहालले जानकारी दिनु भयो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोबिद जङ्ग कार्की, स्थानीय प्रमुख आयुक्त धरान मधुसूदन घिमिरे, प्रदेश अधिकृत नवराज घिमिरे, विद्यालयका सहायक प्रधानाध्यापक यमुना बस्नेत र लक्ष्मी प्रसाद सुवेदी ,समाजसेवी दिल कुमार राई, तालतलैया विकास समिति अध्यक्ष गंगा बहादुर राय, सदस्य टंक दाहाल, नर्थ पोइन्ट बोर्डिङ स्कुलका प्रिन्सिपल राजन दाहाल विभिन्न संघ संस्थाका पदाधिकारीहरू ,स्काउटरहरू लगाएतको उपस्थिति रहेको थियोे ।


