इटहरी । भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । नेवार समुदायमा प्रचलित धिमे बाजालाई जोगाइराख्न नेवाः मिसा दबुको आयोजनामा एकमहिने तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष अवनी शाक्यले बताउनुभयो । नयाँ पुस्तामा धिमे बाजाका बारेमा जानकारी गराउँदै यसतर्फ प्रोत्साहन गर्न यो तालिमको आयोजना गरिएको उहाँको भनाइ छ । धिमे बाजा नेवार समुदायमा हरेक शुभकार्यमा बजाइने चलन रहँदै आएको छ । प्रशिक्षक प्रेम शाक्यले सबै मिलेर आफ्ना बाजा, भेषभूषा, संस्कार र संस्कृति जीवन्त राख्न आवश्यक भएको बताउनुभयो ।

धिमे बाजा नेवार समुदायमा नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा बजाउने गरिन्छ । नयाँ पुस्तामा सांस्कृतिक ज्ञान र सीप हस्तान्तरण नहुँदा संस्कृति लोप हुने अवस्थामा पुग्ने भएकाले यसलाई जोगाउन जरुरी रहेको नेवार समुदायका अगुवाहरूको भनाइ छ । पुराना संस्कार र संस्कृतिको जगेर्नामा नगरपालिकाले पनि सहयोग गर्दै आएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताउनुभयो । नेवाः मिसा दबु भोजपुरको आयोजना तथा भोजपुर नगरपालिकाको सहयोगमा सञ्चालित एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।