इटहरी । झापाको मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए । विगत लामो समयदेखि हात्ती र बाँदरको आतङ्क खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतङ्क खेप्नुपरेको उनले बताए । हालसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगर मारेर चितुवाले खाइसकेको छ ।
स्थानीय चिया बगानमा कार्यरत श्रमिक, बिहान बेलुका बाटो हिँड्ने व्यक्ति र स्कुले बालबालिका चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको उनले बताए । मानवीय क्षतिको समेत त्रास बढेकाले चितुवालाई नियन्त्रणमा लिन फलामे खोरमा पासो थापिएको उनले जानकारी दिए । उनले डिभिजन कार्यालय झापा, जीवजन्तुका क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था र व्यक्तिहरूलाई तत्काल यस क्षेत्रमा रहेको चितुवा नियन्त्रणमा पहल गरिदिन सामाजिक सञ्जालमार्फत अपिलसमेत गरे । उनले यस क्षेत्रमा दुई वा सोभन्दा बढी बयस्क चितुवा रहेको दाबी गरे ।
दुई महिनाअघि मेचीनगर–४ बाहुनडाँगीमा समेत चितुवा स्थानीयवासीको एक दर्जन खसीबाख्रा मारेको थियो । कनकाईस्थित जामनुखाडी सामुदायिक वनबाट फलामे खोर ल्याएर पासो थापे पनि हालसम्म चितुवा नियन्त्रणमा लिन नसकेको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले चितुवाले पशु चौपाय मार्ने खाने गरेता पनि मानवीय क्षति नभएको बताए ।


