इटहरी । मोरङ जिल्लाको बेलबारी नगरपालिका–२, लालभित्तीबाट चार जना किशोरीहरू बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार उनीहरू यही जेठ १५ गते बिहान साथी भेट्न जाने भन्दै घरबाट निस्किएका थिए। तर त्यसयता उनीहरू सम्पर्कविहीन छन्।बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, तथा बेलबारी–२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली रहेका छन् । परिवारका सदस्यहरूले धेरै प्रयास गर्दा पनि बालिकाहरूको कुनै जानकारी प्राप्त नभएपछि प्रहरीलाई खबर गरिएको हो। प्रहरी स्रोतका अनुसार खोजी कार्य तीव्र पारिएको छ र विभिन्न सम्भावित स्थानहरूमा निगरानी भइरहेको छ।


