सुन्दरहरैँचा | मोरङको सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ४ मा उपभोक्ताहरूको हकहित र सचेतनाका लागि एक विशेष "उपभोक्ता सचेतना कार्यक्रम" आयोजना गरिएको छ। प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि सुन्दरहरैँचा र सुन्दरहरैँचा नगरपालिका कार्यालयको सहकार्यमा भएको हो।
उक्त अवसरमा मानव अधिकार सञ्चाल सुनसरीका संयोजक रमेश भट्टराईले सहभागीहरूलाई उपभोक्ता अधिकार, कानुनी सुरक्षा, बजार अनुगमन प्रणाली, गलत तथा म्याद नाघेका वस्तुहरूको पहिचान तथा उजुरी दिने प्रक्रियाहरू सम्बन्धमा विस्तृत रूपमा प्रशिक्षण दिनुभयो। उहाँको प्रस्तुतीले विद्यार्थीहरूमा उपभोक्तावाद सम्बन्धी आधारभूत तथा व्यवहारिक जानकारी थपिएको सहभागीहरूको प्रतिक्रिया थियो।
कार्यक्रममा मन्तव्य राख्दै उपभोक्ताको हक संरक्षण गर्न समुदाय स्तरमै यस्ता कार्यक्रमको आवश्यकता रहेको नगरपालिका कार्यपालिका सदस्य दुर्गा पोखरेलले बताउनुभयो ।
वडा मातहतबाट उपभोक्तताको हक हितका लागि कार्यक्रम आवश्यक रहेका आगामी दिन यस्ता कार्यक्रम गर्दै जाने वडा नम्बर ४ कार्यबाहक वडा अध्यक्ष गणेश गुराँगाईले बताउनुभयो ।
कार्यक्रममा वडा सदस्यहरू शान्ति चौधरी, राजकुमारी चौधरी, साजिलास माध्यमिक विद्यालयका शिक्षक अनिल कार्की र साजिलाल माध्यमिक विद्यालयका विद्यार्थीहरू लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।
विद्यार्थीहरूको उपस्थिति र सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो। प्रशिक्षण सत्रमा उनीहरूले विभिन्न प्रश्नहरू उठाएका थिए, जसको प्रशिक्षकले स्पष्ट रूपमा उत्तर दिएका थिए।
कार्यक्रमले उपभोक्ता अधिकारको जानकारीमात्र नभई, विद्यार्थीहरूलाई व्यावसायिक जीवनमा उपभोक्ता बन्ने क्रममा अपनाउनुपर्ने सजगता र नैतिकताको सन्देशसमेत दिएको थियो।


