इटहरी । सोमबार दिउँसोबाट सञ्चालनमा आएको भेडेटार–रवि–राँके सडक फेरि पहिरोले अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं। ५ को लुम्फाजुङमा झरेको ठुलो पहिरोले भेडेटार–रवि–राँके सडकखण्डअन्तर्गत भेडेटार–डाँडाबजार सडक अवरुद्ध भएको हो । बाटो अवरुद्ध हुँदा भेडेटारदेखि डाँडाबजारसम्म सवारी साधन चल्न सकेको छैन ।

शुक्रबार राति परेको भारी वर्षापछि साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडेडाँडामा पहिरो गएको थियो । जसका कारण उक्त सडक शनिबार बिहानदेखि नै अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सोमबार दिउँसो ३ः३० बजेपछि  सञ्चालनमा आएको सो सडकखण्ड पुनः अवरुद्ध भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।अध्यक्ष रुम्दालीले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ । ठुलो पहिरो खसेका कारण बाटो खुल्न समय लाग्ने उहाँको भनाइ छ । भेडेटार–रवि–राँके सडकखण्ड निर्माणाधिन अवस्थामा छ । भेडेटार–डाँडाबजारको दूरी करिव १२ किलोमिटर रहेको छ । सडकको चौडाहा फराकिलो गर्न माटो कटिङको काम धमाधम भइरहेको छ । वर्षा हुने वित्तीकै पहिरो खस्ने र बाटो अवरुद्ध हुने गर्छ ।