इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पारित गरेको ‘बङ्गुर प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत  यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी वितरण गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाबाट गठित छनोट समितिको सिफारिसमा ६८ घरपरिवारलाई एक÷एकवटा बङ्गुरको पाठा उपलब्ध गराइएको नगरप्रवक्ता गिरीले जानकारी दिनुभयो ।

करुणा फाउनडेसनको सहयोगमा १५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी अपाङ्गता भएका घरपरिवारलाई उपलब्ध गराइएको हो । नगरसभाबाट रु १२ लाख ५० हजार बजेट विनियोजन गरी बङ्गुर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न आवेदन आह्वान गरेको थियो । नगरपालिकाले कृषि, पशु तथा उद्यम गर्न चाहनेलाई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले यसअघि उन्नत जातका १०० वटा भैँसी वितरण गरिसकेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकाले नगरबासीलाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷८१ को नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेको थियो । विशेषगरी वैदेशिक रोजगारीमा जाने युवालाई आफ्नै ठाउँमा रोजगार बनाउन व्यावसायिक कृषि तथा पशुपालनमा अनुदान दिने व्यवस्था गरेको नगरप्रमुख विमला राईले बताउनुभयो ।