इटहरी । नोबेल मेडिकल कलेज, विराटनगरमा कार्यरत २४ वर्षीया स्टाफ नर्स लक्ष्मीकुमारी मण्डलको रहस्यमय परिस्थितिमा मृत्यु भएको छ। मृतकका परिवारजनले घटनालाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेका छन्। सप्तरीको महादेवा गाउँपालिका–२ घर भई विराटनगरमा डेरा गरी बस्दै आएकी लक्ष्मीको शव जेठ १२ गते आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो। मोरङ प्रहरीले उनी सिलिङ फ्यानमा गम्छा र साडीको सहायताले झुन्डिएको अवस्थामा भेटिएको जानकारी दिएको छ। तर, मृतकका बाबु हनुमान मण्डलले उक्त दृश्य हत्या पछि आत्महत्या देखाउने उद्देश्यले सिर्जना गरिएको दाबी गरेका छन्। उनका अनुसार लक्ष्मी बस्ने कोठाको भेन्टिलेसन ठूलो भएको र सो भेन्टिलेसनबाट अरू कोठामा बस्ने कोही व्यक्तिले छिरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ। “छोरी एक्ली भएको मौका छोपी कसैले भेन्टिलेसन हुँदै कोठामा पसी हत्या गरेर झुन्ड्याएको देखिन्छ। अब यो घटनाको निष्पक्ष छानबिन होस्,” मण्डलले सञ्चारकर्मीहरूसँग भने। उनले दोषी पहिचान गरी कारबाहीको माग गर्दै मानवअधिकारकर्मी तथा सप्तरी प्रहरीलाई पनि भेटेका छन्। यसैबीच, सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले घटनास्थल मोरङ जिल्लामा परेकाले मोरङ प्रहरीसँग समन्वय गर्दै सत्य तथ्य बाहिर ल्याउने पहल गरिने बताएका छन्। मृतक लक्ष्मी नोबेल अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत थिइन्। परिवारले न्यायका लागि आवाज उठाइरहेका छन् भने घटनाको विस्तृत अनुसन्धानको मागसमेत गरिएको छ।


