इटहरी । भोजपुरको अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आइतबार आयोजित विशेष समारोह मार्फत गाउँपालिकाका सातवटै वडालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना पालिकाको रूपमा जिल्ला समन्वय समितिका सभापति कमल थुलुङ र गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले संयुक्त रूपमा औपचारिक घोषणा गर्नुभएको हो । अरुण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रुपक पुलामी मगरका अनुसार पालिकाले अघिल्ला दिनहरूमा सातै वडाबाट खोप सुनिश्चितताको घोषणा गरिसकेको थियो । हाल जन्मिए देखि १५ महिना सम्मका ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्रदान गरिएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गरिएको हो । कार्यक्रममा पालिका अध्यक्ष शालिकराम खत्रीले खोप अभियानमा कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्य सहित महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरूको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै जिल्ला समन्वय समितिका सभापति थुलुङले गाउँपालिकालाई बधाई दिंदै खोप सुनिश्चितता तथा दिगोपनाको अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो। उहाँले पालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभयो । कार्यक्रममा पालिकाका सातै वडाका स्वास्थ्य चौकी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । साथै खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गरिएको थियो । यससँगै अरुण गाउँपालिका भोजपुर जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने तेस्रो पालिका बनेको छ । यसअघि भोजपुर नगरपालिका र हतुवागढी गाउँपालिका पूर्ण खोप पालिका घोषणा भइसकेका छन् ।