इटहरी । जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेका १ जना थुनुवाको उपचारका क्रममा मङ्गलवार बिहान मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको जानकारी जोशीले दिए । प्रहरीले श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो । म्याद थप भएयता उनी मोरङ प्रहरीको हिरासतमा थिए ।

डीएसपी जोशीका अनुसार एक्कासि ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९ः२० बजेतिर उपचारका लागि कोशी अस्पताल लगिएको थियो । श्रेष्ठको उपचारकै क्रममा ११ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । हिरासतमै रहेका बेला बारम्बार बिरामी पर्ने गरेपछि यसअघि पनि प्रहरीले उनलाई उपचारका लागि अस्पताल लगेको थियो । प्रहरीका अनुसार लागुऔषध सेवनकर्तासमेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको पत्ता लागेको छ । उनी आपराधिक पृष्ठभूमिका व्यक्तिसमेत हुन् । डीएसपी जोशीका अनुसार यसअघि श्रेष्ठविरुद्ध विभिन्न प्रहरी कार्यालयबाट ४ पटक मुद्दा चलिसकेको रेकर्ड प्रहरीसँग छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी, झापाको इलाका प्रहरी कार्यालय दमक, मोरङको इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय मोरङबाट उनी विरुद्ध यसअघि मुद्दा चलिसकेको थियो । डीएसपी जोशीले यसअघि ३ पटक लागुऔषध ऐन र १ पटक अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलेको बताए ।

  पछिल्लो पटक विराटनगरमै साइकल चोरी गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको थियो । साइकल चोरी गर्न खोजेको देखी साइकलका धनी पुग्दा हातपात र दुर्व्यवहार गरेको भनेर किटानी जाहेरी परेपछि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको प्रहरीको भनाइ छ । शवलाई कोशी अस्पतालमै राखिएको छ । मृतकका आफन्तलाई खबर भइसकेको र उनीहरू आइसकेपछि थप प्रक्रिया अघि बढ्ने डीएसपी जोशीले बताए ।