इटहरी । इटहरी २ बरगाछिमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले रेजल मेकअप स्टूडियो तथा ब्यूटी पार्लर सञ्चालनमा ल्याएका छन् । मङ्गलबार इटहरी उपमहानगरपालिका २ का वडा अध्यक्ष माधव कोइरालाले मेकअप स्टूडियोको उद्घाटन गर्नुभएको हो । क्वयर समुदायलाई स्वरोजगार तर्फ जोड्न कोशी प्रदेश सामाजिक विकाश मन्त्रालय र इटहरी उपमहानगरको आर्थिक सहयोगमा मेकअप स्टूडियो सञ्चालनमा ल्याइएको मानव कल्याण समाज इटहरीका कार्यक्रम संयोजक देव नारायण चौधरीले जानकारी दिनुभयो । क्वायर समुदायलाई विकृति र विसंगतिको पर्यायको रुपमा हेरिने दृष्टिकोणलाई परिवर्तन गर्नका लागि रोजगार मूलक कार्यक्रमलाई अघि सारिएको उहाँले बताउनुभयो । त्यस्तै निल हिरा समाजका कार्यक्रम निर्देशक सञ्जय शर्माले पछाडिएका समूदायको उत्थानका लागि स्थानीय सरकारले रणनीति तयार गरि तल्लो तहबाटै कदम चाल्नु पर्ने बताउनुभयो । क्वयर समुदायका व्यक्तिहरु स्वरोजगार तर्फ जोडिदा स्थानीय सरकारसँगै समाजले पनि सकरात्मक रुपमा साथ दिनुपर्ने बताउनुभयो । त्यस्तै प्रमुख अतिथि वडाध्यक्ष कोइरालाले समाजभित्रको उपसमाजको रुपमा रहेको क्वयर समुदाय उपेक्षामा परेको कुरामा दुई मत नरहेको बताउनुभयो । प्राकृतिक विविधताको रुपमा स्वीकार नगर्दा यो समूदाय पछाडिन पुगेकाले व्यक्तिगत एवं आर्थिक उन्नतिबाट टाढिएको उहाँको भनाइ थियो । देशको कानुनले यस समूदायलाई समान रुपमा हेर्ने बताउदै विभेद गर्न नपाइने उहाँले बताउनुभयो । कार्यक्रममा निल हिरा समाज कोशी प्रदेश अध्यक्ष मुस्कान श्रेष्ठले सहयोगका लागि इटहरी उपमहानगर र प्रदेश सरकारलाई धन्यवाद दिदै क्वयर समूदायलाई अगाडि बढाउन मार्गनिर्देशकको रुपमा भूमिका निर्वाहका लागि आग्रह गर्नुभयो । आगामि दिनमा थप सकारात्मक कदम चाल्न आग्रह गर्दै साथ र सहयोगका लागि सिङ्गो समाजलाई नै आव्हान गर्नुभयो ।


