इटहरी । पथरीमा सम्पन्न प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले जितेको छ । मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टिमले डाँस मोरङ्गी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको डाँस मोरङी क्लबले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय २१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । डाँस मोरङ्गीका लागि उमर सानीले सर्वाधिक ३२ रन बनाउदा रोहित राजवंशीले २२, प्रदीप मण्डलले १७ र दीपेश सुवेदीले १६ रनको योगदान गर्नुभयो । बलिङतर्फ आयोजक टिमका सुरज न्यौपानेले ३ विकेट लिदा मोहम्मद निशार र ज्ञानेन्द्र श्रेष्ठले समान २÷२ विकेट तथा अभि लिम्बू र नितेश साहनीले १÷१ विकेट लिनुभयो । १२२ रनको लक्ष्य आयोजक टिमले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा पूरा ग¥यो । जितमा सोनु मण्डलको ३६ रन, विजय घिमिरेको २९ रन र सुरज न्यौपानेको १७ रन महत्वपूर्ण रहेको थियो । डाँसका आर. के. मण्डलले ३ विकेट र प्रदीप मण्डलले २ विकेट लिनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टिमका सुरज न्यौपाने घोषित हुँदा उत्कृष्ट ब्याट्स म्यान सोनु मण्डल, उत्कृष्ट बलर डाँसका उमर सानी हुनुभएको थियो । उदयीमान खेलाडीको रुपमा भने पथरीशनिश्चरे क्रिकेट क्लबका अभिषेक बिक चयन हुनुभयो ।  विजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ । उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाएको छ । विजेता तथा उपविजेता टिमलाई पथरी शनिश्चरे नगरपालिका वडा नं. १० का अध्यक्ष जीवन खतिवडा सहितका विशिष्ट अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।